आफ्ना नानीबाबुहरुलाई जीवनको सही गोरेटो देखाउनु, उनीहरुलाई सँधै सिक्नमा उत्साहित गराउनु र सही ढंगले अभिभावकत्व प्रदान गर्नु हरेक अभिभावकलाई चुनौतीको विषय हो । कुनै पनि विद्यार्थीको निर्माण विद्यार्थी, अभिभावक र शिक्षकको संयुक्त प्रयासले मात्र हुन्छ । यसमा पनि घरेलु वातावरणको निकै ठूलो योगदान रहन्छ । यसै उद्देश्यले न्यु लाइट माविले ‘असल अभिभावकत्व’बारे अभिभुखीकरण कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
विद्यालयमा नियमित रुपमा ‘अभिभावक बैठक’हरु हुन्थे । साउन १२ गते यस्तै बैठक सोचेर विद्यालय पुगेका कक्षा ५ का अभिभावकहरु छक्क परे । उनीहरुलाई कलम र कागज उपलब्ध गराइयो । अगाडि प्रोजेक्टरमा ‘असल अभिभावकत्वबारे अभिभावकसँग कुराकानी’ लेखिएको ब्यानर थियो । त्यस्तै अनुभव साउन १६ गते कक्षा ४ का अभिभावकहरुले पनि गरे । खासमा जे भइरहेको थियो त्यो आफ्ना नानीबाबुहरुको हुर्काइ र सिकाईबारेमा नै थियो ।
असल अभिभावकत्वबारे विद्यालयका प्रिन्सिपल रमेश ज्ञवालीले विषय उठान गरे । उनले विद्यालयले गरेका गतिविधि र अभिभावकका गुुनासोहरुको चर्चा गर्दै अभिभावकत्व निकै जटिल विषय भएकाले अभिमुखीकरण कार्यक्रम राखेको बताए । विभिन्न साहित्यको सन्दर्भ लिदैँ ज्ञवालीले चिनियाँहरु पश्चिमा भन्दा अभिभावकत्वमा अगाडि भएको प्रसंग सुनाए । चिनियाँहरुले बच्चालाई हुर्काउँदा देश, समाज र परिवारप्रति जिम्मेवार गराउँदै लैजान्छन् तर पश्चिमा मुलुकमा स्वतन्त्रताको नाउँमा व्यक्तिवादलाई बढी प्रश्रय दिइन्छ । चीनले द्रुत गतिमा प्रगति गर्नुमा असल अभिभावकत्व र शिक्षाको देन रहेको बताए ।
अभिमुखीकरण कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज रामचन्द्र श्रेष्ठले स्लाइड प्रिन्जेन्टेशन गरें । उनले विभिन्न शीर्षकमा असल अभिभावकत्वका गुणहरु र अभिभावकका दायित्वहरुबारे चर्चा गरे । श्रेष्ठले विद्यार्थीलाई प्रशस्त समय दिन, आफुसँगै राखेर पढाउन, बच्चाको कुरा सुन्न, उनीहरुलाई सम्मान गर्न, घरमा सिकाईको वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । कार्यक्रममा अभिभावकत्वसम्बन्धी विभिन्न भिडियोहरु पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा आधारभूत तहका कोअर्डिनेटर कुलबहादुर केसीले विद्यालयले गरिरहेको शैक्षिक क्रियाकलापबारे चर्चा गर्नुभएको थियो । त्यस्तै शिक्षकहरु मिलन कुँवर, टंकप्रसाद पोखरेल पनि बोल्नुभएको थियो ।