१३ पुस
न्यू लाइट मावि, सार्वजनिक शैक्षिक गुठीमा ‘न्यू लाइट साहित्य महोत्सव’ सम्पन्न भएको छ । महोत्सवको उद्घाटन लेखक तथा अध्येता जंग बहादुर शाहले गरेका थिए । त्यस्तै महोत्सवमा कवि भूपिन र कवि गिरि श्रीस मगरको आतिथ्य रहेको थियो । महोत्सवसँगै पुस्तक प्रदर्शनी पनि सञ्चालन भएको थियो ।
लेखक तथा अध्येता जंग बहादुर शाहले पाठ्य पुस्तकसँगै विभिन्न पुस्तकको अध्ययन गरेर ज्ञान फराकिलो गर्नुपर्ने बताउनुभयो । भाषामा शुद्धताको आवश्यकता उल्लेख गर्दै शाहले शुुद्ध उच्चारण र शुद्ध लेखनलाई जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै विद्यालयका प्राचार्य रमेश ज्ञवालीले विद्यार्थीकाे प्रतिभाकाे लागि मञ्च र अग्रज साहित्यकारसँगकाे अन्तरक्रियाकाे लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयाे ।
महोत्सवको प्यानल डिस्कसन सेसनमा रामचन्द्र श्रेष्ठसँग विमर्श गर्दै कवि भूपिनले कक्षा ९ को नेपालीमा अध्यापन हुने कविताको चर्चा गर्दै विदेश जाने कारणले एक्लिएका आमाहरुको नाममा ‘आमाको तस्वीर’ लेखेको बताउनुभयो । कविता सपना देख्ने भाषामा लेखिनुुपर्ने उल्लेख गर्दै कवि भुपिनले आफ्नो भाषालाई जोड दिन आग्रह गर्नुभयो ।
त्यस्तै कवि गिरि श्रीस मगरले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले गरेको कार्यक्रमको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमहरु नियमित आयोजना गर्नुपर्ने जोड दिनुभयो । कार्यक्रममा कवि दलबहादुर गुरुङ, लक्ष्मण ज्ञवाली, राजेन्द्र कुँवर लगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा एक दर्जन विद्यार्थी तथा शिक्षकहरुको कविता वाचन गरेका थिए । त्यस्तै एक दर्जन विद्यार्थीले ‘बुक रिडिङ सेमिनार’मा पुस्तक समिक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको चित्रकला पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रमकाे सञ्चालन मावि शिक्षक टंक प्रसाद पोख्रेलले सञ्चालन गर्नुभएको थियाे । कार्यक्रममा कविता वाचनको सत्र नविना थापा र बुक रिडिङ सेमिनारकाे सञ्चालन अनिता गाैतमले गर्नुभएकाे थियाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडग बहादुर गाैतमले अध्यक्षतामा सम्पन्न भएको थियाे ।